जनता 4K न्यूज जनकपुरधाम। धनुषाको लक्ष्मिनिया गाउँपालिका–४ स्थित Nepal Investment Mega Bank Limited (NIMB Bank) मा रहेको आफ्नो खाताबाट करिब ३ लाख रुपैयाँ रहस्यमय रूपमा निकासी भएको भन्दै एक महिलाले न्यायको माग गरेकी छन्।
क्षीरेश्वरनाथ नगरपालिका–६ इच्छापुर निवासी पुनिता कुमारी यादवले नेपाल इन्भेस्टमेन्ट मेघा बैंक लिमिटेड (NIMB Bank) मा रहेको आफ्नो खाताबाट आफूलाई कुनै जानकारी नदिई विभिन्न चरणमा रकम झिकिएको दाबी गर्दै बुधबार सञ्चारमाध्यममार्फत गुहार मागेकी हुन्।
पीडितका अनुसार उनका श्रीमान कमलेश यादव वैदेशिक रोजगारीका लागि दुबईमा कार्यरत छन्। उनले विदेशमा कठिन परिश्रम गरेर कमाएको रकम समय–समयमा श्रीमतीको खातामा पठाउँदै आएका थिए। तर केही दिनअघि खातामा रहेको रकम एकैपटक १ लाख रुपैयाँ, त्यसपछि पुनः १ लाख रुपैयाँ, अर्को पटक ७० हजार रुपैयाँ तथा अन्तिममा ३० हजार रुपैयाँ गरी करिब ३ लाख रुपैयाँ निकासी भएको थाहा पाएपछि परिवार स्तब्ध बनेको छ।
पुनिता यादवले आफूले मोबाइल बैंकिङ सेवा प्रयोग नगरेको तथा कुनै प्रकारको रकम निकासी प्रक्रिया नगरेको दाबी गरेकी छन्। खातामा रकम नभएको जानकारी पाएपछि उनी NIMB बैंकको लक्ष्मिनिया शाखा पुगेकी थिइन्। बैंकमा बुझ्दा खाताबाट उक्त रकम निकासी भइसकेको जानकारी दिइएको उनको भनाइ छ।
पीडितका अनुसार घटनाबारे बैंकका शाखा प्रबन्धक जयप्रकाश साहलाई जानकारी गराउँदा आफूलाई प्रहरीको साइबर ब्युरो वा अपराध अनुसन्धान शाखामा उजुरी दिन सुझाव दिइएको थियो। तर रकम कसरी र कसको माध्यमबाट निकासी भयो भन्नेबारे स्पष्ट जानकारी नपाएको उनको गुनासो छ।
“मेरो श्रीमानले विदेशमा दिनरात दुःख गरेर पठाएको पैसा यसरी हराउँदा हामी ठूलो समस्यामा परेका छौं। नेपाल इन्भेस्टमेन्ट मेघा बैंक (NIMB Bank) तथा सम्बन्धित निकायले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही र हाम्रो रकम फिर्ता गरिदिनुपर्छ,” पीडित यादवले सञ्चारकर्मीसमक्ष भावुक हुँदै भनिन्।
घटनाले NIMB बैंकको बैंकिङ सुरक्षा प्रणालीमाथि समेत प्रश्न उठाएको स्थानीयवासीको भनाइ छ। खातावालाले कुनै कारोबार नगरेको दाबी गरिरहँदा रकम कसरी निकासी भयो भन्ने विषयमा सम्बन्धित निकायले सत्यतथ्य छानबिन गर्नुपर्ने देखिएको छ।
स्थानीयवासीले पनि नेपाल इन्भेस्टमेन्ट मेघा बैंक लिमिटेड (NIMB Bank), नेपाल प्रहरी तथा सम्बन्धित नियामक निकायले निष्पक्ष अनुसन्धान गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।
